म २४ वर्षकी भएँ । मेरो बूढाको लिंगको बाहिर छालामा एलर्जी आएको छ र चिलाउँछ पनि । मलाई डर लागिरहेको छ, पछि गएर यो एलर्जी मलाई सर्छ कि सर्दैन ? यसको रोकथामको उपाय बताइदिन सक्नुहुन्छ ?
९८१२

लिंगको छालामा एलर्जी
तपाईंले आफ्नो श्रीमान्को लिंगको छालामा एलर्जी आएको कुरा बताउनुभएको छ । एलर्जी नै हो भन्ने कुरा कसरी पक्का गर्नुभयो, केही नलेख्नु भएकाले केही भन्न सक्ने स्थिति भएन । हाम्रो शरीरको लगभग सबैजसो भाग छालाले ढाकेको हुन्छ । छालामा हुने एलर्जी लिंगको छालामा पनि हुनसक्छ । तपाईंले आफ्नो शरीरको अन्य भागमा पनि उस्तै किसिमको एलर्जी आएको छ कि छैन केही लेख्नुभएको छैन ।

एलर्जी कसरी हुन्छ ?
हामीले बोलीचालीको भाषामा आफूलाई मन नपर्ने मान्छे, वस्तु वा कुराले एलर्जी गरायो भन्छौं, तर चिकित्सा सेवामा भने यसको विशेष अर्थ छ । सामान्यत: कुनै समस्या नगराउने कुनै कुराप्रति हाम्रो प्रतिरक्षाप्रणालीको असामान्य किसिमको अधिक प्रतिक्रिया हाइपरसेन्सिटिभिटीका कारणले उत्पन्न हुने कतिपय स्थिती नै एलर्जी हो । एलर्जीले छाला चिलाउने वा डाबर आउनेदेखि लिएर, हाच्छिउँ लाग्ने, नाकबाट पानी बग्ने जस्ता कुरादेखि लिएर कडा किसिमको बेहोस नै हुनेसम्मको स्थिति निम्त्याउन सक्छ । हावामा भएको धुलोको कण वा परागकण अनि खाना वा किराको टोकाइ वा औषधि जे कुराबाट पनि एलर्जी हुन सक्छ ।
एलर्जी कसरी हुन्छ, चर्चा गरौं । अब त्यसको कुनै व्यक्ति यस्ता एलर्जी गराउने वस्तुको सम्पर्कमा आएपछि एलर्जी प्रतिक्रिया सुरु हुन्छ । सबैभन्दा पहिले शरीरले एक विशेष किसिमको एन्टिवडी निकाल्छ जसलाइ एलजीइ भनिन्छ र यो नै एलर्जी गराउने वस्तुसँग टाँसिन्छ । यी एन्टिवडीहरू रगतमा भएका मास्टसेल भनिने विशेष कोषमा टाँसिन्छ । एलजीइसँग टाँसिएका एलर्जीहरू मास्टसेलमा टाँसिएपछि मास्टसेलबाट विभिन्न किसिमका रसायन निस्कन्छन् र रगतमा मिल्छन् । यस्ता रसायनमध्ये हिस्टामाइन प्रमुख रसायन हो र धेरैजसो परिस्थितिमा एलर्जीको कारक पनि यही रसायन हुन्छ ।

यौन एलर्जी
यौन क्रियाकलाप सम्बद्ध कतिपय कुराले एलर्जीलाई गराउँछ र ती कुरालाई हामी यौन सम्बन्धित एलर्जी भन्न सक्छौं । यसका केही उदाहरण यस प्रकार छन् :
- वीर्यसँग सम्बन्धित एलर्जी
- शुक्रकीट नाशक औषधीको एलर्जी
- ल्याटेक्स रवर सँगको एलर्जी
- यौनसम्पर्क गर्दा प्रयोग गरिने चिप्लो पदार्थसँगको एलर्जी
- यौनसाथीले सेवन वा प्रयोग गरिएको क्रिम वा औषधी (यौन क्रियालापको सन्दर्भमा प्रत्यक्ष सम्पर्कमा आउँदा) को एलर्जी
त्यसबाहेक यौनांग क्षेत्रमा लगाइने अन्य औषधी, सुगन्धित साबुन वा स्प्रे अनि प्याड वा पहिरन जस्ता कुराले पनि यौनांगमा एलर्जी हुन सक्छ ।

के एलर्जी सर्छ ?
माथी नै भनि सकियो कि यो कुनै वस्तुको सम्पर्कमा आएपछि उक्त व्यक्तिको प्रतिरक्षा प्रणालीले देखाएको प्रतिक्रिया हो । यो व्यक्ति विशेष हुन्छ । कुनै एक वस्तुको एलर्जी तपाईं र तपाईंको श्रीमान् दुवैलाई हुनसक्छ र तपाईंलाई भएर श्रीमान् नहुन सक्छ अनि श्रीमान्लाई भएर तपाईंलाई नहुन सक्छ अर्थात् तपाईंले बुझिसक्नुभयो कि यो एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दैन ।

समाधान ?
सबैभन्दा पहिले श्रीमान्को लिंगमा भएको समस्या के हो, पत्ता लगाउनुपर्छ । यसको निदानका लागि चिकित्सकको सहायता लिनुपर्ने हुन्छ । उक्त समस्या एलर्जीका कारणले भएको हो वा अन्य कुनै कारणले ? यदि एलर्जीको कारणले समस्या भएको हो भने कुन वस्तु वा तत्वले गर्दा एलर्जी भएको हो उक्त कुराको पहिचान गर्नुपर्छ । यौनांगको प्रत्यक्ष सम्पर्कमा आउने कुनै पनि वस्तु वा रसायनजस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ।
यसरी पहिचान भैसकेपछि उक्त वस्तु वा तत्वको सम्पर्कवाट परहेज गर्न सके एलर्जी नै हुँदैन र त्यसका लक्षणहरू पनि देखिँदैनन् । अचेल एलर्जी प्रतिको संवेदनशीलता कम गर्ने विधि हाइपो सेन्सिटाइजेसन अपनाएर पनि पनि एलर्जीको समस्या समाधान गरिन्छ ।
यद्यपि कतिपय परिस्थितिमा पक्कासँग यहि कुराले एलर्जी भएको भन्न सकिने स्थिति रहँदैन । त्यसैले पनि एलर्जीको उपचार गाह्रो बन्न पुग्छ, तैपनि एलर्जी कम गर्ने औषधी सेवन गर्नुपर्ने हुन्छ । अचेल यसका लागि अनेक किसिमका औषधी उपलब्ध छन् । तीमध्ये कतिपयले केही झुम्म पारेजस्तो पनि गराउँछन् । यस्ता औषधी चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।